प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आसरा सुधार केन्द्र

Share

वि.सं. २०५४ साल असारमा काठमाडौं उपत्यका भित्र विभिन्न प्रकारका अपराधिक गतिविधि बढ्दै गएको कारण नेपाल प्रहरीले त्यस्ता प्रकारका क्रियाकलापमा सम्बद्ध २७२ जना यूवाहरूलाई पक्राउ गरी छानविन गर्दा १११ जना यूवाहरू लागू औषध दुर्व्यसनमा फसेको पाइयो। उक्त दुर्व्यसनमा फसेका समूहलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने लक्ष्य लिई नेपाल प्रहरीको पहल कदमीमा २०५४ साल आषाढ १ गते "लागू औषध दुर्व्यसनी सुधार शिविर" स्थापना भएको थियो । विभिन्न बाधा र अड्चनको वावजुद पनि नेपाल प्रहरीले उक्त समुहलाई ३ महिनासम्म निःशुल्क उपचार गरेको थियो । नेपाल प्रहरीको बृहत्तर जिम्मेवारी भएको कारण उक्त शिविर संचालन गर्ने जिम्मेवारी २०५४ साल आश्विन १ गतेदेखि नेपाल प्रहरी श्रीमती संघलाई हस्तान्तरण भई उक्त संघको सुपरिवेक्षणमा संचालन हुंदै आएको छ । उक्त शिविरको नाममा केही परिवर्तन गरी "आसरा सुधार केन्द्र" नामक एक मुनाफा रहित गैह्र सरकारी संस्थाको रुपमा २०५५ साल माघ १९ गते संस्था दर्ता ऐन २०३४ अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई २०५७ माघ ३ गते देखि समाज कल्याण परिषदमा, २०६९।०४।११ गते गृह मन्त्रालयमा सुचिकृत र मिति २०७३।०१।०२ गते गृह-मन्त्रालयमा आवद्ध समेत भई सेवा प्रदान गर्दै आएको छ ।

मिति २०७५।१०।२७ गते देखि समाजमा रहेका महिला लागूऔषध प्रयोगकर्ताहरुलाई समेत लक्षित गर्दै महिला लागूऔषध प्रयोगकर्ताहरुको उपचार, परामर्श तथा पुनर्स्थापना कार्यको लागि काठमाण्डौ महानगरपालीका वडा नं.८ तिलगंगामा (आखाँ अस्पतालको दक्षिण पट्टि) महिला पुनर्स्थापना केन्द्रको शुभारम्भ गरि नेपाल प्रहरी श्रीमती सघंको सुपरिवेक्षणमा सञ्चालन हुदै आईरहेको छ । यस महिला आसरा सुधार केन्द्रले समाजमा लागूऔषध तथा मद्यपानको कूलतमा फसेका महिलाहरुलाई विभिन्न क्रियाकलापका माध्यमवाट परिवर्तन हुने चाहना जगाउने र लागूऔषध तथा मद्यपानवाट सदाको लागि मुक्ति दिलाउने उद्देश्य राखी स्थापना गरिएको छ ।

साथै यस केन्द्रको शाखाको रुपमा प्रदेश नम्बर १ अन्तर्गत समेत समाजमा लागू औषध प्रयोगकर्ताहरुलाई लक्षित गरि उपचार, परामर्श तथा समाजमा पुनर्स्थापित गर्ने उद्देश्य राखी धरान सुनसरीमा समेत मिति २०७५।१२।०१ गतेबाट आसरा सुधार केन्द्र पानवारी धरान शाखाको स्थापना गरी नेपाल प्रहरी श्रीमती संघको सुपरिबेक्षणमा संचालन हुदै आईरहेको छ र केन्द्रले हालसम्म ४६४२ (दश जना महिला सहित) जनालाई उपचार सेवा प्रदान गरिसकेको छ ।