प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय - परिचय

पृष्ठभूमि:-


प्रहरी संगठनको स्थापनादेखि नै अपराधको रोकथाम र अनुसन्धान महत्वपूर्ण जिम्मेवारीको रूपमा रहि आएको छ । प्रहरी ऐन २०१२ अनुसार शान्ति सुरक्षा स्थापना गर्नको लागि अपराधको सफल अनुसन्धान गर्नु नेपाल प्रहरीको प्रमुख दायित्व हो । आधुनिकीकरण र प्रविधीको तीव्र विकास भइरहेको सन्दर्भमा अपराध अनुसन्धानको दायरा अझ बृहद् र जटिल हुँदै गइरहेको छ, जसले गर्दा परम्परागत ज्ञान, सीप र शैलीले मात्र अपराधको नियन्त्रण र  सफल अनुसन्धान गर्न चुनौतीपूर्ण भएको छ । तसर्थ अपराधको बदलिदो प्रकृति र प्रवृति अनुसार नेपाल प्रहरीका अधिकृत र जवानहरूलाई अनुसन्धानमा सबल र सक्षम बनाउन नेपाल प्रहरीले अपराध अनुसन्धान सम्बन्धी तालिमहरू प्रदान गर्दै आएको छ । यही जिम्मेवारी बहन गर्न अपराध अनुसन्धासंग सम्बन्धित तालिमहरू संचालन गर्न अग्रणी र विशिष्टिकृत संस्थाको रुपमा अपराध अनुसन्धान विद्यालयको स्थापना भएको हो । प्रहरी सुधार र सुझाव आयोग २०५० को सिफारिस अनुसार अपराध अनुसन्धान शिक्षालय स्थापना गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको सुपरीवेक्षणमा तथा नियन्त्रणमा रहने गरी २०५२ पौष २८ मा ४ जना प्रहरी नायब उपरीक्षकको दरबन्दी निकासा भएकोमा मिति २०५३।०१।०९ गते तत्कालीन श्री ५ को सरकार (मन्त्रिस्तर) को निर्णय अनुसार छुट्टै अपराध अनुसन्धान शिक्षालय स्थापना गर्ने स्वीकृति प्राप्त भई २०५३।०९।१५ गते यस विद्यालयको स्थापना भएको हो । पछिल्लो पटक नेपाल सरकार मन्त्रिस्तरको मिति २०७७।०७।२७ गतेको निर्णयानुसार स्वीकृत नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M)  प्रतिवेदन अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको मातहतमा रहने व्यवस्था रहेको छ । उक्त स्वीकृत प्रतिवेदन अनुसार प्रहरी वरिष्ठ उपरीक्षकले प्रधानाचार्यको रूपमा विद्यालयको नेतृत्व गर्दै आउनु भएको छ ।